voiceofdalit

Home / PHOTO GALLERY / मोबाइल चोरीको झूटो आरोपमा कुटिएका दलित युवकको मृत्यु

मोबाइल चोरीको झूटो आरोपमा कुटिएका दलित युवकको मृत्यु


रौतहट

रौतहटको कटहरिया नगरपालिका-४, बहादुरपुरमा मोबाइल चोरीको झुटो आरोपमा निर्मम कुटपिटमा परेका २८ वर्षीय दलित युवक नसिब बैठाको उपचारका क्रममा मृत्यु भएको छ।
पीडित परिवारका अनुसार, गत साउन १६ गते राति गाउँकै पसलमा बसिरहेका नसिबलाई स्थानीय सञ्जय यादव, विजय यादव, गर्जु गोसाइँ, रान्नु गोसाइँ, प्रभु गोसाइँ र लक्ष्मी गोसाइँसहितको समूहले मोबाइल चोरी गरेको आरोपमा कुटपिट गरेका थिए। सो क्रममा उनीमाथि चोरी स्वीकार गर्न दबाब दिइएको थियो। तर, बैठाले अस्वीकार गरेपछि उनीहरूले उनलाई घरसम्म पुर्‍याएका थिए।
भोलिपल्ट, साउन १७ गते सोही समूह फेरि घरमा प्रवेश गरेर बैठालाई समातेका थिए। आरोपितहरूले उनको आँखामा पट्टी बाँधेर करिब ३०० मिटर टाढा लगी रुखमा डोरीले उल्टो झुन्ड्याएर साइकलको चेन, बेल्ट र मुक्काले निर्मम कुटपिट गरेको परिवारले जनाएको छ।
कुटपिटपछि प्रहरीले नसिबलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटहरिया पुर्‍याएको थियो। त्यहाँ भएको पञ्चायतमा बैठा निर्दोष साबित भएका थिए। मोबाइल चोरी गरेको कुनै प्रमाण नपाएपछि प्रहरीले उनलाई छाडेको परिवारले बताएको छ।
यद्यपि, कुटपिटबाट गम्भीर चोट लागेकाले बैठाको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गयो। हिँडडुल गर्न नसक्ने भएपछि परिवारले उनलाई उपचारका लागि वीरगन्जस्थित ‘स्पर्स’ अस्पताल लगेको थियो। करिब २० दिनको उपचारपछि उनको मृत्यु भएको हो।
सुरुमा पीडित परिवारले न्याय र क्षतिपूर्ति नपाएसम्म शवको दाहसंस्कार नगर्ने अडान लिएका थिए। तर, गाउँका ठूलाबडाहरूको दबाबका कारण उनीहरू बाध्य भएर दाहसंस्कार गर्नुपरेको नसिबका भाइले बताए। उनले भने, “हामीले मुद्दा दर्ता गरेका छौँ, तर प्रहरी प्रशासनले अहिलेसम्म कुनै चासो देखाएको छैन। उल्टै गाउँका केही व्यक्तिले मिलापत्रका लागि दबाब दिइरहेका छन्।”
मृतक परिवारले कुटपिटमा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कटहरियामा जाहेरी दिए पनि हालसम्म प्रहरीले कुनै स्पष्ट कदम नचालेको गुनासो छ। स्थानीय दलित समुदायले पनि यस घटनालाई जातीय भेदभाव र दलितमाथिको हिंसाको जघन्य उदाहरण भन्दै दोषीलाई कठोर सजाय दिन माग गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *