काठमाडौं,
सिराहामा धर्मको आडमा भएको दलितमाथिको विभेदको विरुद्धमा दलितका लागि दलित अभियान, नेपालले काठमाडौंमा वृहत प्रदर्शन गरेको छ । अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा भएको अर्धनग्न साँङ्लो आन्दोलनको क्रममा निषेधित क्षेत्रमा प्रहरी र आन्दोलनकारी युवाहरुबीच एक छिन तानातान समेत भएको थियो ।
बानेश्वरस्थित निषेधित क्षेत्रलाई छेकेर बसेको प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएपछि स्थिती नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवश मार्च २१ को समेत सन्दर्भ पारेर भएको वृहत जनप्रदर्शनमा दलित समुदायको न्याय, मुक्ति र आत्मसम्मानलाई राज्यले तत्काल अनुभूत हुने गरि माग सम्बोधन गर्नुपर्ने अभियानले बताएको छ । ‘राज्यले दलित समुदायमाथि सँधै चरम विभेद गर्दै आईरहेको छ । र, दिनदहाडै दलितको ज्यान मार्ने, बलात्कार गर्ने र बस्ने बासै उठाउँदा समेत राज्य मुकदर्शक बनिरहेको छ ।’ आन्दोलनलाई सम्बोधन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले भने–‘सरकार संचालनमा रहेका र माग सम्बोधन गर्ने गृह मन्त्रालयका मन्त्री नै जातीय विभेदलाई बढावा दिने यस्तो राज्यबाट हामीले अझै जोखिम देखेका छौं ।’
अभियानका संयोजक सुनारले दलितको सवालमा राज्य सँधै मुकदर्शक बनिरहने हो भने समुदायको तर्फबाट सशस्त्र आन्दोलन गर्न पनि आफूहरु पछाडि नहट्ने चेतावनी समेत दिएका छन् । उनले राज्यले शान्तिपूर्ण आन्दोलनलाई नजरअन्दाज गर्दै जाने हो भने ठुलो क्षती भोग्न तयार हुनुपर्ने बताए ।
साथै सुनारले सिरहाको औरही गाउँपालिका–५ का दिपक मरिक (डोम) को घर दलित भएकै कारण महायज्ञ ‘छोईने’ भन्दै पालिका अध्यक्ष शिवजी यादवकै सक्रियतामा हटाईनु विभेदको चरम स्थिती रहेको बताए । राज्यले यो सवाललाई तत्काल सच्याउनुपर्ने र त्यसो नभएको खण्डमा समुदायको तर्फबाट विभेदकारीहरुलाई तह लगाईने उनले चेतावनी दिए । ‘हामीले विभेदकारीको मर्मत गर्दा हुन सक्ने क्षतीको सम्पूर्ण जिम्मेवारी अहिलेको सरकारले लिनुपर्छ ।’ उनले भने ।
केही समय अगाडी सिराहामै रिंकु सदाको बलात्कार गरि हत्या भएको थियो । सदाको हत्या भएपनि उनले अझै पनि न्याय पाएकी छ्रैनन् । त्यस्तै नेहा रौनीयार र सतेन्द्र रामबीच भएको अन्तरजातीय विवाहलाई गृहमन्त्री रमेश लेखककै आदेशमा राज्यले नै जातीय विभेद गरेको दलितका लागि दलित अभियान, नेपालको ठहर छ । दिनप्रतिदिन दलित समुदायमाथि भैरहेको विभिन्न प्रकारको विभेद अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराईरहेको अवगत गराउँदै अभियानले अझै यस्तै विभेदजन्य घटना बढ्दै जाने हो भने हतियारसहित प्रतिकारमा उत्रने चेतावनी दोहोर्याएको छ ।











