राजावादीहरूको बढ्दो सक्रियताले के संकेत गर्छ ?
नेपाल हल्लैहल्लाको देश हो । यहाँ कोठेगफ र अफवाहहरूमा बढी नै विश्वास गरिन्छ । अहिले संस्थापन शक्तिलाई मनको बाघले खाइरहेको छ । नयाँ संविधान बनाउने कांग्रेस, एमाले र माओवादीले नै खुलेर संविधानमाथि स्वामित्व लिन सकिरहेका छैनन् । उनीहरूले अँध्यारो मनले स्विकारेका मात्र हुन् । पछिल्लो समयमा दलहरू संघीयता, समावेशिता र सुशासनका मुद्दामा चुकेका छन् । जसले आममानिसमा चर्को असन्तुष्टि र निराशा भरेको छ । अहिलेको चुनौतीलाई कुनै तानासाही या निरंकुश शासनले समाधान दिन सक्दैन । यतिखेर जनताले आफू बलियो हुने बाटो खोजिरहेका मात्र हुन्, कुनै राजा या तानासाह खोजेका होइनन् ।
नेपाली राजनीतिमा राजावादीहरूको यो सक्रियताको प्रभाव कस्तो पर्ला ?
प्रभाव त पक्कै देखिन्छ । यसबाट नेपाली राजनीतिमा धु्रवीकरण देखिनेछ । गणतन्त्र, समावेशिता र संघीयतावादी शक्ति एक ठाउँमा उभिनेछन् । राजावादी र गणतन्त्रवादीको कित्ता अलग–अलग हुनेछ ।
राजावादीहरूको यो सक्रियतामा गणतन्त्रवादी दलहरूको ‘योगदान’ कति छ ?
यो सब आफूलाई गणतन्त्रवादी भन्ने दल र नेताहरूकै ‘योगदान’ हो । सामाजिक सञ्जाल र सडक सबैतिर छोटे राजा बन्दै गएका नेताहरूप्रति आक्रोश छ । राजालाई नमान्ने जनताले छोटे राजालाई पनि मान्दैनन् । लोकतन्त्रमा असन्तुष्टिको स्वर सुनिनु अनौठो होइन । तर, त्यसलाई सम्बोधन गर्न दलहरू सच्चिनुपर्नेमा यसतर्फ पहलसम्म भएको छैन । समयको पदचाप बुझेर दल र तिनका नेताहरूले आफूलाई नसच्याई सुखै छैन । दुई ठुला दलको महाधिवेशन नजिकिँदै छ । उनीहरूले समयानुकूल नेतृत्वमा नयाँ अनुहारलाई अगाडि ल्याए भने यस्तो असन्तुष्टि मत्थर हुन सक्छ । अन्यथा, यसबाट सबैभन्दा ठुलो घाटा तिनै दल र नेताहरूलाई नै हुने हो ।




