सिरहा — औराही गाउँपालिका अध्यक्ष शिभ जी यादवकै निर्देशनमा महायज्ञ हुन लागेको स्थानमा बसोबास गर्दै आएका डोम समुदायका दीपक र अनितासहित ७ जनाको परिवारलाई अछुत भन्दै ५ सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् ।
गाउँपालिकाका अध्यक्षकै नेतृत्वमा जातीय विभेदपूर्ण व्यवहार गरी गैरकानुनी हर्कत र अन्याय भइरहँदासमेत गाउँमा रहेको चौकीका प्रहरी र स्थानीय अगुवाले मौन स्वीकृति जनाएका छन् । औरही गाउँपालिकामा सरसफाइको काम गर्ने दीपक मलिक डोम र अनिता मलिक डोमले जागिरबाट निकालिने डरले उजुरीसमेत गर्न सकेका छैनन् । अछुत भन्दै डोम समुदायका दीपक र अनितासहित ७ जनाको परिवारलाई महायज्ञ हुने स्थानबाट करिब ५ सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् ।
३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गत फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो । यतिसम्म कि, अछुत बस्दै आएको भन्दै उनीहरूको घर भएको स्थानको माटोसमेत खनेर फालिएको छ ।
डोम परिवारलाई अहिले गाउँकै एकान्तमा रहेको करिब २ धुर जग्गामा बाँसको टाटी र माथि जस्ता हालेर दुईकोठे फुसको घर बनाइदिइएको छ । बजरंगी बाबाले भनेबमोजिम गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव आफैं आएर यहाँ महायज्ञ गर्नुपर्ने भन्दै घर भत्काइदिएको अनिताले सुनाइन् ।
उनीहरूलाई सारिएको ठाउँमा खानेपानीसमेत छैन । बिजुली पनि जडान नगरिएकाले टुकी बाल्न बाध्य छन् । ‘हामी हाम्रो घरमा हाँसीखुसी बस्दै आएका थियौं,’ भक्कानिँदै अनिताले सुनाइन्, ‘तर, अहिले एकान्त सुनसान ठाउँमा बसाइएको छ, त्यहाँ आफ्नै चापाकल थियो, यहाँ पानीसमेत छैन ।’ आफूहरू कमजोर भएकाले बोल्न नसकेको र दलित भएकै कारण अपमान सहनुपरेको छोरा अर्जॅनले दुःखेसो गरेका छन् ।
‘त्यहीँ रहेका अन्य जातिको घर भत्काइएन, हाम्रो मात्र घरले महायज्ञमा के अप्ठ्यारो पार्थ्यो ?’ उनले सुनाए, ‘डोम भएकै कारण हाम्रो घरमा डोजर चल्यो, छुवाछुत गर्न खोजिएको कुरा हाम्रो घर भएको ठाउँको माटो हटाइनुले पनि पुष्टि गर्छ ।’ उनका अनुसार, बुवा दीपक र आमा अनिता गाउँपालिकामै सफाइकर्मीका रूपमा काम गर्छन् । यसको विरुद्धमा बोल्दा कामबाट निकालिदिने हो कि भन्ने डरले केही पनि बोल्न नसकेको अर्जुनले सुनाए ।
पुरानो बासस्थानबाट तिमीहरू हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादवले दबाब दिएको अनिता बताउँछिन् ।
१० दिन अघि छोराको विवाह गरेर बुहारी भित्र्याएको बताउँदै उनले घर भत्काउने बेलामा छोरा–बुहारी र छोरी मिलेर सकेजति सामान निकालेको तर झिक्न नभ्याएको सामान त्यहीँ पुरिएको गुनासो गरे ।
पूर्व वडाध्यक्ष यादव हाल जनमत पार्टीका औरही पालिका अध्यक्षसमेत हुन् ।



