voiceofdalit

Home / NEWS / जनता आवास कार्यक्रममार्फत सल्यानमा ३४ घर निर्माण हुँदै

जनता आवास कार्यक्रममार्फत सल्यानमा ३४ घर निर्माण हुँदै

सल्यानमा जनता आवास कार्यक्रममार्फत ३४ घर निर्माण हुने भएको छ। दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालू आर्थिक वर्षमा ३४ घर निर्माण गरिने भएको हो।

जिल्लामा लाभग्राही छनोट भई सम्झौताको काम अघि बढाइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ। घर निर्माण हुने स्थान, लाभग्राही छनोटसँगै लाभग्राहीसँग सम्झौताको काम अघि बढाइरहेको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर महेशकुमार वलीले जानकारी दिए।

वलीका अनुसार बनगाड कुपिण्डे नगरपालिकामा ३, बागचौर नगरपालिकामा ४, कुमाख गाउँपालिका ३, सिद्ध कुमाख गाउँपालिका २, दार्मा गाउँपालिका ३, शारदा नगरपालिकामा ४, कपुरकोट गाउँपालिकामा २, त्रिवेणी गाउँपालिकामा ६, छत्रेश्वरी गाउँपालिकामा ४ र कालिमाटी गाउँपालिकामा ३ गरी ३४ आवास निर्माण हुनेछन्।

जनता आवास कार्यक्रममार्फत जिल्लामा यसअघि १४५ वटा आवास निर्माण भएका छन्। जसमा आर्थिक वर्ष ०७७/७८ मा ३० वटा, आर्थिक वर्ष ०७८/७९ मा ४० वटा, आर्थिक वर्ष ०७९/८९ मा ३१ र आ.व ०८०/८१ मा ४४ वटा आवास निर्माण भएका छन्। कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत आवास निर्माणका लागि यस वर्ष जिल्लामा एक करोड १९ लाख रुपैयाँ पठाएको छ।

वलीले प्रतिघर निर्माणका लागि सेवाग्राहीलाई कन्टिन्जेन्सी काटेर तीन लाख ३६ हजार रुपैयाँ दिने गरेको बताए। कार्यविधिअनुसार घर निर्माणका लागि खाल्डो खनेपछि कार्यालयले २५ प्रतिशत अर्थात् ८४ हजार रकम पहिलो किस्ताबापत दिने गरेको छ। दोस्रो किस्ताबापत डिपिसी (जग ढलान) गरेपछि ३० प्रतिशत, तेस्रो किस्ताबापत घरको गाह्रो लगाएपछि ३५ प्रतिशत दिने कार्यविधिमा उल्लेख छ।

चौथो किस्ताबापतको रकम भने शौचालयसहित घर सम्पन्न भएपछि १० प्रतिशत रकम भुक्तानी गरिने उनको भनाइ छ। ‘पहिले संघीय सरकारले सुरुवात गरेको यो कार्यक्रम अहिले प्रदेश सरकारले सञ्चालन गर्दै आएको छ।’ जनता आवास कार्यक्रम दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्ष्य गरी आव ०६६-६७ बाट लागू गरिएको योजना हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *